हेटौंडामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास, प्रहरीसँगै स्थानीयवासीलाई सेवा

Image

हेटौंडा / बागमती प्रदेश सरकारको सहयोगमा हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गर्नुभयो ।

शिलान्यास समारोहमा मन्त्री लामिछानेले अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीयवासीले समेत गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताउनुभयो ।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुण पौडेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौँडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, वडा नं. १७ का वडाध्यक्ष उद्धब सत्योललगायतको उपस्थिति रहेको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयन हुने अस्पताल निर्माणको पहिलो चरणमा बहिरङ्ग सेवा कक्ष, कर्मचारी आवास, घेराबार, डिप बोरिङ, पार्किङ लगायत संरचनाहरू निर्माण गरिनेछ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शय्याको अस्पताल निर्माण गर्ने योजना छ । सोहीअनुसार पहिलो चरणमा १६ शय्याको अस्पताल भवन आगामी २०८३ पुस १८ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित आठ करोड तीन लाख ७१ हजार ७३८ रुपियाँको लागतमा सम्झौता गरिएको हो ।

प्रहरी अस्पतालको पहिलो चरणको भवन निर्माण सम्पन्न भएपछि अन्तरङ्ग र बहिरङ्ग दुवै सेवा सञ्चालनमा ल्याइने जानकारी प्रदेश प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायब उपरीक्षक डा. प्रयास बिडारीले दिनुभयो । हाल प्रदेश प्रहरी अस्पतालले हेटौँडा–१५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा दिँदै आएको छ ।