शिक्षक अभावको दीर्घकालीन समाधानका लागि हेटौंडामा निःशुल्क ‘सीपयुक्त शिक्षक उत्पादन कार्यक्रम’ सुरु”

Image

हेटौंडा/ नेपालको शिक्षण क्षेत्रमा देखिएको गम्भीर शिक्षक अभावलाई सम्बोधन गर्न हेटौंडा स्कुल अफ म्यानेजमेन्टले नवोदय शिशु सदन र नवोदय इनोभेशन सेन्टरको सहकार्यमा ‘सीपयुक्त शिक्षक उत्पादन कार्यक्रम’ सञ्चालन गर्न लागेको छ।

सामाजिक उत्तरदायित्व र गुणस्तरीय शिक्षाको भावनासँगै यो कार्यक्रमले शिक्षण पेशामा लाग्न चाहने युवाहरुलाई निःशुल्क तालिम, प्रयोगात्मक अभ्यास र समग्र मार्गदर्शन प्रदान गर्नेछ।
कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट नेतृत्वकर्ताको रूपमा रहनेछ भने नवोदय शिशु सदन ल्याब स्कुल को रूपमा प्रयोगात्मक शिक्षणको थलो हुनेछ। नवोदय इनोभेशन सेन्टरले प्रशिक्षार्थी शिक्षकहरूलाई नियमित Mentoring प्रदान गर्नेछ।

२०८२ साउन ११ गतेदेखि सुरु हुने यस कार्यक्रममा कक्षा ११ र १२ तहमा अध्यापन गरिनेछ भने भविष्यमा स्नातक तहको अध्ययन समेत थपिने लक्ष्य छ। कक्षा बिहान ६:१० देखि १०:३० सम्म संचालन हुनेछ। प्रत्येक शुक्रबार पुस्तक परिचर्चा, शिक्षा संवादजस्ता सृजनात्मक क्रियाकलापपनि सञ्चालन गरिनेछन्।

विषयगत समूह (अङ्ग्रेजी, सामाजिक/नेपाली, विज्ञान/गणित) मा बाँडिएका विद्यार्थीहरुले हप्तामा दुईदेखि तीनपटक Mentoring कक्षा लिनेछन्। सहभागीहरूलाई निःशुल्क खाना र मासिक १,००० रुपैयाँ पाकेट खर्च पनि दिइनेछ।
विद्यार्थीले विद्यालय भ्रमण, कक्षा अवलोकन, शिक्षण अभ्यास, पोर्टफोलियो विकास, प्रदर्शनी तथा प्रस्तुति अभ्यास जस्ता गतिविधिमा संलग्न हुनेछन्। उनीहरूको प्रगति  मार्फत मूल्यांकन गरिनेछ।

तालिमपछि योग्य र इच्छुक प्रशिक्षार्थी शिक्षकलाई रोजगारीका अवसर पनि प्रदान गरिनेछ। पढाइसँगै काम गर्ने अवसरसमेत दिने यस कार्यक्रमले दीर्घकालीन रूपमा गुणस्तरीय र उत्तरदायी शिक्षक उत्पादन गर्ने लक्ष्य लिएको हेटौंडा इस्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुर्ण बहादुर जोशीले बताउनुभयो।