शिक्षक नायक गोष्ठी सम्पन्न : रेडक्रस अभियानलाई शैक्षिक संस्थामै सशक्त बनाउने निर्णय

Image

हेटौंडा / नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ। जिल्लाभरिका ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक नायकहरू सहभागी उक्त गोष्ठीले रेडक्रस अभियानलाई विद्यालयमै सशक्त रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

गोष्ठीले जुनियर/युवा सर्कल गठन तथा पुनर्गठन, रेडक्रस परिचयात्मक गोष्ठी, पालिका स्तरीय प्राथमिक उपचार तथा विपद् व्यवस्थापन तालिम सञ्चालनलगायतका कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको हो। साथै, आगामी भदौ १३ र १४ गते हेटौंडा–१९ नेवारपानीस्थित अरनिको माविको आतिथ्यतामा आयोजना हुने जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस गोष्ठीमा सम्पूर्ण शैक्षिक संस्थाको सक्रिय सहभागिता सुनिश्चित गर्ने निर्णय पनि गरिएको छ।

कार्यक्रममा उपमन्त्री शिवहरि दाहालको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय सन्दर्भमा सुमित्रा काफ्ले, राष्ट्रिय अभियानबारे पिताम्बर बास्तोला, शिक्षक नायकको जिम्मेवारीबारे शिवहरि दाहाल, तथा जुनियर/युवा अभियानका सन्दर्भमा लक्ष्मण भट्टराईले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न विद्यालयका प्रमुख, व्यवस्थापन समिति सदस्य, रेडक्रस पदाधिकारी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।