हेटौंडा/ मकवानपुरमा लागूऔषध कारोबार चिया पसल र डेराकोठामा समेत फैलिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार र शुक्रबार विशेष सूचनाका आधारमा विभिन्न स्थानमा छापा मारेर ६ जनालाई लागूऔषधसहित पक्राउ गरेको हो।
हेटौंडा–१२ झोलुङ्गे पुल नजिकै चोरी भएको पसलको अनुसन्धान गर्ने क्रममा प्रहरीद्वारा वर्ष २२ का नबिन श्रेष्ठ र वर्ष २६ का विजय बल पक्राउ परेका थिए। उनीहरूसँग नाइट्राभेट २२ ट्याब्लेट र चोरी गरिएको ९ बट्टा पाइलट चुरोट फेला परेको थियो।
यस्तै, हेटौंडा–२ स्थित डेराकोठामा बस्ने वर्ष २१ का अंकित दोङको कोठाबाट लुकाई राखिएको १११ ट्याब्लेट नाइट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल फेला परेको छ।
अर्को घटनामा, सानोपोखरा चोकस्थित चिया पसलमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले वर्ष ४२ की सरस्वती मुक्तान, वर्ष १९ का रोजन मुक्तान र भारत मोतीहारीका २३ वर्षीय सुल्तान खानलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १८८ क्याप्सुल ट्रामाडोल र ५० ग्राम गाँजा बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई लागूऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो। घटनाले लागूऔषध कारोबार अब सामान्य व्यवसाय र आवासीय क्षेत्रमा समेत सक्रिय रहेको चिन्ताजनक संकेत देखाएको छ।

















