हेटौंडा / स्थानीय जनप्रतिनिधिमाथिको सुरक्षाहीनता र प्रहरी प्रशासनको उदासिनताका विरुद्ध हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरू आफैँ सडकमा उत्रिएका छन्।
वडा नं. १ का अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि असार ४ गते वडामा सेवा दिइरहेका बेला भएको आक्रमण घटनामा दोषी अझै उन्मुक्त भइरहेपछि वडाध्यक्षहरूले जिल्ला प्रशासन कार्यालय अगाडि टेबल राखेर सेवा प्रदान गर्दै विरोध प्रदर्शन थालेका हुन्।
वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइरालाले आक्रोश व्यक्त गर्दै भने, “हामी आफैँ असुरक्षित छौँ भने सर्वसाधारण नागरिकको अवस्था के होला? प्रहरीको यो निष्क्रियता गम्भीर लाचारीको संकेत हो।”
उपमेयर तथा कार्यवाहक मेयर राजेश बानियाको अगुवाइमा सुरु भएको आन्दोलनमा १ देखि १९ वडाका अध्यक्षहरूको ऐक्यबद्धता देखिएको छ। उनीहरूले आन्दोलनको पहिलो चरणमा दुई दिनसम्म सडकमा सेवा प्रवाह गर्ने र त्यसपछि संघर्षलाई थप विस्तार गर्ने योजना बनाएका छन्।
प्रहरी निरीक्षक विश्व खड्काले भने, “यो विषय एक जना व्यक्तिको मात्र होइन, जिल्लाको समग्र सुरक्षासँग जोडिएको छ। अनुसन्धान अघि बढिरहेको छ।” तर जनप्रतिनिधिहरूको आरोप छ— प्रहरीले जानाजान ढिलाइ गर्दै दोषीलाई जोगाउने प्रयास गरिरहेको छ।
यसअघि पनि हेटौंडाको मध्य बजारमा भएको व्यवसायीमाथिको कुटपिट घटनामा पनि प्रहरीले चासो नदेखाएको भन्दै व्यापारीहरू आन्दोलित भएका थिए। वडाध्यक्षहरूले ती घटना सन्दर्भ जोड्दै अहिलेको प्रशासनिक निष्क्रियता अस्वीकार्य भएको स्पष्ट पारेका छन्।
विरोध कार्यक्रमकै बीच वडाध्यक्षहरूले सडकमै सेवा प्रवाह गर्दा टाढाबाट आएका सेवाग्राहीहरू अलमलमा परेका छन्। हेटौंडा–३ का सेवाग्राही सविन घलान भन्छन्, “जनप्रतिनिधिहरू आफैँ सडकमा सेवा दिन बाध्य हुनु दु:खद् अवस्था हो। हामी नागरिकको पनि प्रशासनप्रति विश्वास डगमगाएको छ।”
प्रहरी प्रशासनबाट न्याय नपाइने निष्कर्ष निकाल्दै वडाध्यक्षहरूले वार्ता र समन्वयको ढोका बन्द गर्दै थप सशक्त आन्दोलनको तयारी थालेका छन्। जनप्रतिनिधिमाथिको आक्रमणलाई बेवास्ता गर्दा उत्पन्न हुने अवस्थाको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने उनीहरूको चेतावनी छ।

















