हेटौंडा / साउन २ र ३ गते हेटौंडा क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी टोलीहरूले संयुक्त रूपमा अपरेशन सञ्चालन गर्दै ७ जनालाई पक्राउ गरेका छन्।
प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–०१ बस्ने २० वर्षीय सतिस लामा, वडा नं. ०५ सानोपोखराका २० वर्षीय सन्जिव लामा, भिमफेदी गाउँपालिका–०२ कालिकाटारकी १९ वर्षीया सन्ध्या पाख्रिन र मकवानपुरगढी गाउँपालिका–०२ बाँसपानीकी १९ वर्षीया सन्ध्या घलानको साथबाट २ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको हो।
त्यस्तै, हेटौंडा–१५ रातोमाटे चेकिङ पोइन्टमा जाँच गर्ने क्रममा ना ३७ प ६४४९ नम्बरको मोटरसाइकल चालक, पर्सा पोखरिया नगरपालिका–०१ बनकटवाका २७ वर्षीय अकलेश महतो कुशहवाको साथबाट २ ग्राम ९१० मिलिग्राम लागूऔषध बरामद गरिएको छ।
यसैगरी, हाल हेटौंडा–०९ लामसुरेमा बसोबास गर्दै आएका सप्तरी सम्भुनाथ नगरपालिका–०६ का ३६ वर्षीय शैलेन्द्र चौधरी र हेटौंडा–१० बसोबास गर्दै आएका सप्तरी राजगढ गाउँपालिका–०२ बनैनियाका ३६ वर्षीय अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।
पक्राउ परेकाहरूको साथबाट जम्मा ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध बरामद गरिएको छ। उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिनुभएको छ।

















