हेटौंडा/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेस्थित सिस्नेरी–काठमाण्डौ सडकखण्डमा आज दिउँसो एक लोडर दुर्घटना हुँदा एक जना घाइते भएका छन्। खानीखेतबाट फास्टट्रयाकतर्फ जाँदै गरेको बा.प्र.०३–००४ क ४४६३ नम्बरको ह्विल लोडर गाडीको ब्रेक फेल भई सडकको बायाँ भित्तामा ठोक्किएर करिब ८० मिटर तल खसेको हो।
लोडरमा सवार दुईजनामध्ये एकजना हामफालेर सकुशल रहेका छन् भने चालक महोत्तरी टुटेश्वर नगरपालिका–५, बर्दिबास निवासी अन्दाजी ३१ वर्षीय अशोक कुमार महत निधार र पेटमा चोट लागी मध्यम घाइते भएका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरी मकवानपुरबाट प्रहरी निरीक्षक राम प्रसाद यादवको कमाण्डमा टोली घटनास्थलमा खटिएको र टोलीले घाइतेलाई तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ।

















