मकवानपुर प्रहरीको वार्षिक उपलब्धि : अपराध नियन्त्रणदेखि जनचेतनासम्म उल्लेखनीय प्रगति

Image

हेटौंडा/ चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी इकाइहरूले विभिन्न क्षेत्रहरूमा उल्लेखनीय कार्यसम्पादन गरेका छन्। अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, भन्सार छलि नियन्त्रण, सवारी सुरक्षादेखि जनचेतनामूलक अभियानसम्मको प्रहरी सक्रियता उल्लेखनीय देखिएको छ।

प्रहरीद्वारा सार्वजनिक प्रतिवेदनअनुसार, अपराध अनुसन्धानतर्फ १,०७५ वटा मुद्दा दर्ता गरिएका छन् भने ९२८ जना अभियुक्त पक्राउ परेका छन्। लागुऔषधसम्बन्धी १८८ मुद्दा दर्ता भई २८९ जना पक्राउ गरिएका छन्। बरामद सामग्रीमा ६,००४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५,२७१ थान नाइट्राभेट/ट्रामाडोल ट्याब्लेट, २,७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम ४३३ मिलिग्राम खैरो हेरोइन समावेश छन्। लागुऔषध ओसारपसारमा प्रयोग भएका ५५ वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको छ।

लागुऔषध खेती नियन्त्रणका लागि प्रहरीले १२० बिगाहा ४ कठ्ठा क्षेत्रफलमा फैलिएको गाँजाको खेती तथा ३९ बिगाहा १४ कठ्ठा अफिम खेती फडानी गरेको छ। उक्त अभियानमा ४२१ जना प्रहरी खटिएका थिए।
भन्सार छलिएको सामान तथा अवैध मुद्रासहित प्रहरीले १६ करोड १७ लाख ७४ हजार रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको छ। यसमा ८ किलो ७३५ ग्राम सुन (मूल्य १२ करोड १७ लाख), २ किलो १९६ ग्राम चाँदी (मूल्य ३ लाख ६६ हजार), १० थान अबैध सवारीसाधन (मूल्य ७० लाख), र अमेरिकी डलर ३२ हजार तथा यूरो १४ हजार (कुल करिब ६२ लाख ९० हजार रुपैयाँ बराबरको विदेशी मुद्रा) समावेश छन्।

फरार १८३ जना अभियुक्त पक्राउ गरी ९९ वर्ष ११ महिना २३ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने १ करोड २१ लाख ७३ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ।
अबैध उत्खनन् नियन्त्रण अन्तर्गत १९५ वटा सवारीसाधन (ट्रयाक्टर–१६२, टिप्पर–३१, स्काभेटर–२) नियन्त्रणमा लिइँदा ११ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
सवारी दुर्घटनाको हिसाबले ४०७ वटा दुर्घटनामा ५० जनाको मृत्यु, १६३ गम्भीर घाइते र ८०२ सामान्य घाइते भएका छन्। ट्राफिक नियम उल्लंघनमा ३० हजार ३४ वटा कारबाही गरी २ करोड ४१ लाख ४५ हजारभन्दा बढी राजस्व संकलन गरिएको छ। मापसेमा ८४४ जना चालक, र लागुऔषध सेवन गरी सवारी चलाउने २१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

सामाजिक सचेतनाका लागि प्रहरीद्वारा २,६१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १ लाख ४५ हजारभन्दा बढी सर्वसाधारणको सहभागिता रहेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, कानुनी कार्यान्वयनमा दृढ प्रतिबद्धताका साथ सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने गरी कार्यहरू निरन्तरता दिइएका छन्।