हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारलाई काजकिरिया खर्चका लागि प्रदान गर्दै आएको आर्थिक सहयोगलाई निरन्तरता दिएको छ। मंगलबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र वडाध्यक्ष नारायण उप्रेतीसहितको टोलीले मनहरी–८ का चार परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ नगद र श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरेको हो।
केही दिनअघि निधन भएका कृष्णबहादुर प्रजाको परिवारलाई घरमै पुगेर मृत्यु दर्ता कागजात र काजकिरिया खर्च प्रदान गरिएको छ। यस्तै, दिवंगत लोकप्रसाद सुवेदी, बाबुराम स्याङ्तान र बिमन विकका परिवारलाई पनि श्रद्धाञ्जली पत्रसहित नगद सहयोग प्रदान गरिएको हो।
गाउँपालिकाले आर्थिक अभावका कारण काजकिरिया गर्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै अघिल्लो आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरेको हो। परिवारमा सदस्यको मृत्यु भएपछि वडा कार्यालयबाट मृत्यु दर्ता तथा विपन्नताको सिफारिस प्राप्त भएपछि पालिकाले प्रति परिवार २० हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ।
गएको आर्थिक वर्षमा मात्र करिब १८० परिवारले उक्त सहयोग प्राप्त गरेको अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो। “आर्थिक अभावकै कारण अन्त्येष्टि रोकिने अवस्था नआओस् भन्ने उद्देश्यले कार्यपालिकाको निर्णयअनुसार यो कार्यक्रम सुरु गरेका हौं,” उहाले भन्नुभयो, “यस वर्ष पनि निरन्तरता दिएका छौं।”
गाउँपालिकाले मृतकको घरमै पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यलाई संस्थागत रूपमा अघि बढाउँदै आएको छ।

















