किसानको जोखिम न्यूनीकरणतर्फ मनहरी गाउँपालिकाको बहुआयामिक पहल, बाली बीमा सुरु

Image

हेटौंडा / बाली उत्पादनमा पर्ने अनिश्चित जोखिम न्यूनीकरणका लागि मनहरी गाउँपालिकाले एक दूरदर्शी र सहानुभूतिपूर्ण कार्यक्रमको सुरुवात गरेको छ। बुधबारदेखि मनहरी–७ नम्बर वडाबाट सुरु गरिएको बाली बीमा कार्यक्रममार्फत अब किसानले रोग, किराफट्याङ्ग्रा, मौसमीय प्रभाव र वन्यजन्तुबाट हुने क्षतिको क्षतिपूर्ति पाउने छन्।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीका अनुसार, प्रारम्भमा धानबालीको सिजन भएकाले धान बालीबाट बीमा प्रक्रिया सुरु गरिएको हो। वडाका किसान सेतेलाल जिम्बाको १९ कठ्ठा धान खेत बीमा गरी कार्यक्रमको शुभारम्भ गरिएको हो।
अध्यक्ष कालाखेतीले बताएअनुसार, अन्नबाली उत्पादनमा भइरहने विभिन्न जैविक तथा प्राकृतिक समस्याले किसान वर्षौँदेखि मर्कामा परिरहेका छन्। बीमा प्रणालीले त्यस्ता क्षतिको न्यूनतम भरपाई गर्दै किसानलाई आश्वस्त बनाउने विश्वास उनले व्यक्त गरे।

शिखर इन्स्योरेन्ससँगको सहकार्यमा अघि बढाइएको यो कार्यक्रमलाई गाउँपालिकाले अत्यन्त प्राथमिकतामा राखेको छ। कुल बीमाङ्क रकमको ८० प्रतिशत संघीय सरकारले अनुदान स्वरूप व्यहोर्नेछ भने बाँकी २० प्रतिशत किसानले तिर्नुपर्ने व्यवस्था छ। तर, विपन्न किसानहरूका लागि २० प्रतिशत बीमा शुल्क समेत गाउँपालिकाले नै बेहोर्ने गरी बजेट विनियोजन गरिसकेको जनाइएको छ।

गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरका अनुसार, बाली बीमा सुरु भएपछि उत्पादनमा हानि भएमा राहतको महसुस किसानले गर्ने छन्। आगामी दिनमा सबै वडा कार्यालयमार्फत बीमा प्रक्रिया फैलाउँदै अन्य अन्नबाली तथा तरकारी बालीसमेत सामेल गरिनेछ।
यस कार्यक्रममार्फत मनहरी गाउँपालिकाले किसानको उत्पादन सुरक्षाको सुनिश्चितता गर्दै ग्रामीण कृषि अर्थतन्त्रमा दीगो रूपान्तरणको आधार निर्माण गरेको छ।