हेटौंडा/ अग्नि ग्रुपले हेटौंडामा नयाँ तथा अत्याधुनिक ‘लजिस्टिक्स सेन्टर’को भव्य उद्घाटन गरेको छ। सोही अवसरमा महिन्द्राका दुई नयाँ सवारी साधन—महिन्द्रा बोलेरो नियो एसयुभि र महिन्द्रा जिओ इभी (डेलिभरी भ्यान तथा पिकअप) पनि नेपाली बजारमा एकैसाथ सार्वजनिक गरिएको छ।
बुधबार हेटौंडामा सम्पन्न विशेष समारोहमा बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा ताम्रपत्र अनावरण गरी सेन्टरको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बागमती प्रदेश सरकारका सचिव भुपाल बरालको प्रमुख आथित्यता रहेको थियो भने मकवानपुर जिल्ला प्रमुख स्कीम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह राना भाट , अग्नि ग्रुपका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, उपाध्यक्ष वेदा सताषा श्रेष्ठलगायत महिन्द्रा एण्ड महिन्द्राका नेपाल, भुटान र बंगलादेश क्षेत्रीय प्रबन्धक चैतन्य कागलकर तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
नयाँ ‘लजिस्टिक्स सेन्टर’ हेटौंडाको न्यूरेनीस्थित अग्नि लजिस्टिक्समार्फत सञ्चालनमा ल्याइएको हो। ३३,१६७ वर्गफिट क्षेत्रफलमा फैलिएको सेन्टरमा २,२०० घनमिटर भण्डारण क्षमता, १०५० प्यालेट पोजिसन र ४३२ लङस्प्यान सेल्भिङजस्ता सुविधा रहेका छन्। देशभर काठमाडौं, इटहरी र भैरहवासहित चार स्थानमा अग्नि लजिस्टिक्सका आधुनिक सेन्टरहरू सञ्चालनमा छन्।
उद्घाटन समारोहमा सार्वजनिक गरिएको महिन्द्रा बोलेरो नियो १४९३ सिसिको एमहक १०० बीएसभीआइ इन्जिन, स्कोर्पियो प्लेटफर्म च्यासिस, फराकिलो बुट स्पेस, प्रिमियम लेदर इन्टेरियर र ७ सिटर कन्फिगरेसनसहितको सुविधा बोकेको बहुउपयोगी एसयुभि हो। ‘सहयात्री तपाईको, हरेक यात्राको’ भन्ने नारासहित नेपाली भौगोलिक बनावटलाई ध्यानमा राखी निर्माण गरिएको यो सवारीले व्यवसायिक तथा पारिवारिक प्रयोजनमा उत्कृष्ट सेवा दिन्छ।
त्यसैगरी, महिन्द्रा जिओ ‘इभी डेलिभरी भ्यान’ र ‘इभी पिकअप’का दुई भेरियन्टमा प्रस्तुत गरिएको छ। ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरसहित एक चार्जमा १६० किलोमिटरको दाबी गरिएको यो सवारी कम सञ्चालन लागतसहित सहरभित्रको सामान ढुवानीका लागि उपयुक्त विकल्प हो। ‘अघि बढ्छ व्यवसाय बिजुलीको गतिमा, जब छ महिन्द्रा जिओ तपाईंको साथमा’ भन्ने नारासहित सार्वजनिक गरिएको महिन्द्रा जिओले आधुनिक र वातावरणमैत्री व्यवसायिक सेवा दिन सक्षम छ।
अग्नि ग्रुप अन्तर्गतको अग्नि लजिस्टिक्सले डिजिटल इन्भेन्टरि ड्यासबोर्ड, २४ सै घण्टा सिसिटिभी निगरानी, अग्नि नियन्त्रण उपकरण, रियलकम टाइम जीपीएस ट्र्याकिङ, क्लाइमेट-कन्ट्रोल भण्डारण, र थ्री–पीएल सेवाहरू (प्रोक्युरमेन्ट, भण्डारण, ढुवानी, डकुमेन्टेसन) सहितको सेवा प्रदान गर्दै आएको छ।
यस्ता अत्याधुनिक लजिस्टिक्स सेन्टरहरूको विस्तारले नेपालमा व्यवसायिक ढुवानी, भण्डारण तथा सप्लाइ चेन क्षेत्रको गुणस्तरीय विकासमा टेवा पुग्ने विश्वास अग्नि ग्रुपले व्यक्त गरेको छ। साथै, महिन्द्राका विश्वसनीय गाडीहरूको नेपाली बजारमा सहज पहुँच र सेवाको विस्तार गर्दै अग्नि इन्कर्पोरेटेडले ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने दाबी गरेको छ।















