हेटौंडा / बागमती प्रदेश सरकारमा आन्तरिक विवाद चुलिँदै जाँदा नेपाली कांग्रेसका चार मन्त्रीले शुक्रबार सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने तयारीस्वरूप संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा पत्र पठाएका हुन् ।
उनीहरूले राजीनामा पत्र कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लामाको ह्वाट्सएपमा पेश गरेको स्रोतले जनाएको छ ।
बागमती सरकारमा नेपाली कांग्रेसका तर्फबाट आठ जना मन्त्री सहभागी छन् । तीमध्ये चार जनाको राजीनाले प्रदेश सरकारभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको देखिएको छ ।
कांग्रेस संसदीय दलभित्र लामालाई नेताबाट हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयास पनि सँगसँगै अघि बढाइएको छ । ३७ सदस्यीय कांग्रेस संसदीय दलमा २४ जना सांसद लामाको नेतृत्वप्रति असन्तुष्ट रहेको बताइएको छ । यद्यपि संसदीय दलको नेताविरुद्ध दर्ता गरिएको पत्रमा हालसम्म २१ सांसदको मात्र हस्ताक्षर रहेको स्रोतको दाबी छ ।
प्रदेश सरकारको नेतृत्वमा देखिएको यो रस्साकस्सीले बागमतीको सत्ता समीकरणमा परिवर्तनको संकेत दिएको छ ।















