हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयद्वारा SEE २०८१ मा ४ जिपिए प्राप्त गर्ने विद्यार्थी तथा उत्कृष्ट शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी विमर्श श्रेष्ठ र अनुषा उप्रेतीले जिपिए ४ प्राप्त गरेबापत नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष नविन सिक्देलको विशेष आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको हो। कार्यक्रममा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहाल सभाध्यक्ष रहनुभएको थियो।
कार्यक्रममा वडाभित्रका विभिन्न विद्यालयहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो भने SEE परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीहरूलाई बधाईसहित प्रोत्साहन गरिएको थियो।
सो अवसरमा वडा अध्यक्ष नविन सिक्देलले आगामी SEE मा ४ जिपिए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्दै विद्यार्थीलाई अझै उत्साहित बनाउने वातावरण तयार पार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा सचिव रामप्रसाद गुरागाईं, अन्य जनप्रतिनिधि, शिक्षक, अभिभावक, टोल विकास संस्था, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

















