कुलेखानी हुँदै काठमाडौँ ल्याउँदै गरिएको ६४४३ एम्पुल लागूऔषधसहित चार भारतीय नागरिक पक्राउ

Image

हेटौंडा / लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा चार जना भारतीय नागरिक लागूऔषधसहित मकवानपुरको कुलेखानीबाट पक्राउ परेका छन्।

साउन १० गते राति करिब ८:४५ बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानी र इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको संयुक्त टोलीले काठमाडौँतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेट BR05PA9093 स्कारपियो गाडी कुलेखानीमा रोक्दा उक्त कारबाही गरिएको हो।

उक्त गाडीमा भारत, मोतीहारी जिल्लाको सुगौली पोष्ट थाना अन्तर्गत वडाहरूबाट आएका शेख गुल्जार (२४), बसिम अहमद (२५), नेसाब आलम (१९) र शेख सकुत (४३) सवार थिए। उनीहरूलाई शंका लागी गाडीको विधिवत खानतलासी गर्दा सवारीको विभिन्न भागमा फल्स बटम बनाई लुकाइएको अवस्थामा ६,४४३ एम्पुल लागूऔषध र ४९ वटा ट्रामाडोल ट्याब्लेट फेला परेको हो।

पक्राउ परेकासँग प्रहरीले २,२२६ एम्पुल डाईजेपाम, २,३५६ एम्पुल नुर्फिन, १,८६१ एम्पुल प्रोमेथाजिन हाइड्रोक्लोराइड र ४९ वटा ट्रामाडोल ट्याब्लेट बरामद गरेको हो। लागूऔषधसहित पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।