हेटौंडा/ मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७, रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।
साउन ११ गते दिउँसो करिब २:३० बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौंडातर्फ आइरहेको बा.प्र.०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनापछि मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। स्कुटर चालक चितवन जिल्ला, भरतपुर महानगरपालिका–११ का अन्दाजी ५१/५२ वर्षीय मोति बहादुर क्षेत्री गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको भए पनि दिउँसो ३:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। हाल मृतकको शव हेटौंडा अस्पतालमै राखिएको छ।
उक्त स्कुटरमा पछाडि सवार भरतपुर महानगरपालिका–९ सरदपुरकी अन्दाजी ३६/३७ वर्षीया नरमाया गुरूङ गम्भीर घाइते भएकी छन्। उनको खुट्टा, हात, टाउको र अनुहारमा चोट लागेको छ। गुरूङको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र चालक सप्तरी बोडरबर्साइन नगरपालिका–२ निवासी अन्दाजी ३५ वर्षीय अशोक यादव इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।















