हेटौंडा/ मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा संलग्न एक जनालाई ट्रामाडोल ९ हजार क्याप्सुलसहित पक्राउ गरेको छ भने अर्को व्यक्ति फरार रहेको जनाएको छ।
साउन १२ गते राति ८ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १३, आदामारस्थित सडकमा शंकास्पद रुपमा हिँडिरहेका ३० वर्षीय प्रविन लामालाई नियन्त्रणमा लिएको थियो। रितपूर्वक खानतलासी गर्दा उनको साथबाट ३ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले लागूऔषध हेटौंडा उपमहानगरपालिका–१२ निवासी एक व्यक्तिसँग खरिद गरेको बताएका थिए। प्रहरी टोली जब बिक्रेता पक्राउ गर्न गयो, ती व्यक्ति प्रहरी देख्नासाथ साथमा बोकेको झोला फालेर फरार भएका थिए। झोलाको तलासी गर्दा ६ हजार क्याप्सुल ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।
पक्राउ परेका लामामाथि लागूऔषध सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ भने फरार व्यक्तिको खोजी कार्य जारी रहेको डिएसपी अर्यालले बताउनुभयो।















