हेटौंडा/ बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयद्वारा हेटौंडा–४ मा निर्माण गरिएको वृहत घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन को आज एक समारोहका बीच उद्घाटन तथा हस्तान्तरण सम्पन्न भएको छ।
उक्त कार्यक्रम भुटनदेवी माध्यमिक विद्यालय प्राङ्गणमा आयोजना गरिएको थियो। कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधिहरू, निर्देशनालयका अधिकारीहरू, स्थानीय तहका प्रतिनिधि, घरेलु उद्योगी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
निर्देशनालयले निर्माण सम्पन्न गरेको यस भवनले घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुहरूलाई एकीकृत रूपमा प्रदर्शन गर्न, प्रवर्द्धन गर्न तथा उपभोक्तासम्म पुर्याउने महत्वपूर्ण माध्यमको रूपमा कार्य गर्ने विश्वास लिइएको छ। साथै, यस भवनमार्फत स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता विकास तथा आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले ‘स्थानीय उत्पादन, राष्ट्रिय पहिचान’ नारालाई सार्थक बनाउने उद्देश्यका साथ यस्तो संरचना निर्माणलाई प्राथमिकता दिएको जनाएको छ।

















