विद्यार्थी अनुशासन र प्रेरणामा केन्द्रित नारायणी कलेजको अभिमुखीकरण कार्यक्रम

Image

हेटौंडा/ नयाँ शैक्षिक सत्रको सुरुवातसँगै हेटौँडा–१० मा रहेको नारायणी कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अनुशासन, जिम्मेवारी र कलेज जीवनप्रति सजग बनाउने उद्देश्यसहित अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कलेजका प्रिन्सिपल रघुनाथ खरालको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीसामु कलेजको नियम, आचारसंहिता र शैक्षिक मर्यादाका विषयमा जानकारी प्रस्तुत गरियो। मुख्य वक्ताका रूपमा उपस्थित तुल्सी मेहर मेमोरियल माविका सहायक प्रधानाध्यापक तथा नेपाली विषयका सुपरिवेक्षक कमल नेपालले विद्यार्थीले आत्मअनुशासन, उत्तरदायित्व र सकारात्मक शैक्षिक दृष्टिकोण विकास गर्नु आवश्यक रहेको बताए।

कार्यक्रमको वातावरणलाई जीवन्त बनाउन जादु कलाकार बलराम गिरीले मनोरञ्जनात्मक प्रस्तुति दिए। स्वागत मन्तव्य अंग्रेजी शिक्षिका पुष्पा भट्टराईले दिएकी थिइन्।
कलेजका अनुसार यस वर्ष कक्षा ११ मा विज्ञान संकायमा ७० र व्यवस्थापन संकायमा २३० जना गरी कुल ३०० विद्यार्थी भर्ना भएका छन्। परम्पराअनुसार साउन १५ गते भर्ना भएका विद्यार्थीलाई खिर खुवाएर स्वागत गरिएको छ। नियमित कक्षा साउन १६ गतेदेखि सञ्चालनमा आउने प्रधानाध्यापक खनालले बताउनुभयो।