इन्द्रसरोवरमा समाजवादीको संरचना विघटन, स्याङ्तानसहित पूरा पालिका कमिटी एमालेमा

Image

हेटौंडा/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा (समाजवादी) पार्टीको सांगठनिक संरचना नै विघटन भएको छ। पार्टी अध्यक्ष मन कुमार स्याङ्तानको नेतृत्वमा पालिका कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

काठमाडौंस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा महासचिव शंकर पोखरेलले नवप्रवेशीहरूको पार्टीमा स्वागत गरे। स्याङ्तानसँगै उपाध्यक्ष गुणराज रुम्बा, सचिवालय सदस्यहरू जगत बहादुर स्याङ्तान, दिपेश थोकर, अनिल रुम्बा, पंचलाल डिम्डुङ, साथै पेशागत महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष लक्ष्मी डिम्डुङ, चितवन जिल्ला अध्यक्ष पुष्प मरठ्ठा र धादिङ जिल्ला अध्यक्ष कृष्णप्रसाद दाहाल पनि एमालेमा समावेश भएका छन्।

पार्टी प्रवेश कार्यक्रममा एमालेका बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, मुख्य सचेतक महेश बर्तौला लगायतका नेताहरू उपस्थित थिए।
कार्यक्रममा महासचिव पोखरेलले “यो घर फर्कने क्षण मात्र होइन, आन्दोलन सँगै अगाडि बढ्ने नयाँ सुरुवात पनि हो” भन्दै नवप्रवेशीलाई पार्टीको जिम्मेवारी सम्हाल्न तयार रहन निर्देशन दिए।