कलाकार सुलेमान शंकर ‘इकु’की पत्नी सम्झना घिमिरेको अन्त्येष्टि निधन भएको एक सातापछि मात्र गरिएको छ।
४२ वर्षीया सम्झनाको साउन १० गते निधन भए पनि छोरा अमेरिकामा रहेकाले फर्किन समय लागेपछि आज शुक्रबार मात्रै पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो।
मिर्गौला पीडित सम्झनालाई स्वास्थ्यमा अचानक समस्या आएपछि नजिकको ह्याम्स अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरिएको थियो। विगत चार वर्षदेखि मिर्गौला रोगको उपचारमा रहेकी उनी अन्ततः जीवनसँगको लडाइँ हारिन्।
शुक्रबार पारिवारिक सदस्यहरूको उपस्थितिमा अन्त्येष्टि गरिएको हो। इकु र सम्झनाका एक छोरा र एक छोरी छन्।

















