हेटौंडा/ मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मिति २०८२ साउन १७ गते बिहान करिब ६ बजे ४५ वर्षीय मानबहादुर शिवभक्तीले श्रीमती ४० वर्षीया दुर्गा लक्ष्मी शिवभक्तीको घरमा कोही नभएको अवस्थामा घाटी थिची हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हत्या गरी आफ्नै ज्यान समेत लिन खोजेका शिवभक्ती डोरी चुडिएपछि बिहान ८:३० बजे आफैं जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित भई घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार मृतक श्रीमती लामो समयदेखि प्यारालाइसिसका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन्। प्रारम्भिक बयानअनुसार, श्रीमतीको उपचार तथा मानसिक तनावका कारण हत्या गरेको आरोपितले बताएका छन्।
घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। मृतकको शव ओछ्यानमै उतानो अवस्थामा भेटिएको मकवानपुरका जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जनकारी दिनुभएको छ।
घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विश्वम्भरनाथ साह र इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी निरीक्षक विरेन्द्र रायमाझीको नेतृत्वमा भइरहेको अर्यालले बताउनुभयो।

















