हेटौंडा/ हेटौँडा–१५ स्थित जनजागृति मावि (प्राविधिक शिक्षालय) को २५ औं अभिभावक भेला बुधबार सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिका १५ नम्बरका वडाध्यक्ष सुनील मोक्तानको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंह बहादुर लोको सभाध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव प्रसाद सञ्जेलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विद्यालयको समग्र शैक्षिक सुधारतर्फको यात्रालाई उजागर गर्नुभयो। विद्यालयकी लेखापाल चन्द्रावती लामाले आर्थिक विवरण प्रस्तुत गरेकी थिइन्।
सांस्कृतिक कार्यक्रमले थप आकर्षण ल्याएको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले नृत्य प्रस्तुत गरेका थिए। कक्षा १ देखि ९ सम्मका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
यसै अवसरमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ४ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो। साथै, ती विषयहरूमा उत्कृष्ट अंक ल्याउन सहयोग पुर्याउने शिक्षकहरूलाई पनि सम्मान गरियो।
कार्यक्रममा वनदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेल, दिव्य सेवा निकेतन, प्रहरी चेकपोष्ट रातोमाटे लगायत स्थानीय संघसंस्था, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

















