हेटौंडा क्षेत्रमा लागूऔषधसहित ४ जना पक्राउ, ट्रामाडोल र खैरोहेरोईन बरामद

Image

हेटौंडा / वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट खटिएको प्रहरी टोलीले २०८२।०४।१६ गते दिउँसो १२:१० बजे हेटौंडा उपमहानगरपालिका वडा नं. २, लोकप्रिय चोक स्थित गणेश मन्दिर अगाडिबाट लागूऔषध ट्रामाडोल १५७ क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नं. १ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा डेरा गरी बस्ने २० वर्षका सुरेश थिङ र १९ वर्षका सुजत थिङ रहेका छन्। प्रहरी टोलीले उनीहरूको कोठामा खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको छ।

त्यसैगरी, २०८२।०४।१७ गते साँझ ६ बजे वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. ५ पिप्लेचोक स्थित कान्तीराज लोकपथ सडक खण्डमा सवारी साधनको चेकजाँच गर्ने क्रममा ५२० मिलिग्राम लागूऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थसहित २ जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वडा नं. ५ बस्ने २१ वर्षीय बिशेष शाक्य र वडा नं. ६ बस्ने ३८ वर्षीय सुवास चौलागाई रहेका छन्। उनीहरूको साथबाट बरामद लागुऔषधसहित जिल्ला अदालत मकवानपुरबाट म्याद लिएर थप अनुसन्धान भईरहेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले दुवै घटनामा संलग्न व्यक्तिहरूलाई लागूऔषध मुद्दामा आवश्यक कारबाही प्रक्रियामा राखिएको जानकारी दिनुभएको छ।