हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार पदबाट राजीनामाको घोषणा गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै लामाले आफू इमानदार भएको कारण यस्तो परिस्थिति आएको दाबी गर्दै जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताए । साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका लामा साउन ९ गते पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका थिए ।
नेपाली कांग्रेस संसदीय दलभित्रको आन्तरिक विवादका कारण लामाविरुद्ध २१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसपछि साउन १४ गते भएको मतदानमा २२ सांसदले अविश्वास प्रस्तावको पक्षमा मत दिँदा लामा पराजित भएका थिए ।
संसदीय दलको नेताबाट हटेपछि चौतर्फी दवावमा परेका लामाले सुरुमा संविधानको व्यवस्था देखाउँदै पद नछाड्ने अडान राखेका थिए । तर, पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि उनले अन्ततः राजीनामा दिने निर्णय गरेका हुन् ।
लामाको राजीनापछि बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नेपाली कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् । उनी बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुनेछन् ।
एमाले र कांग्रेसबीच भएको २०/२० महिनाको सहमति अनुसार लामाले १२ महिना सरकारको नेतृत्व गरिसकेका छन् भने अब बानियाँले ८ महिनाका लागि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । त्यसपछि एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति गरिएको छ । केन्द्रमा नेतृत्व परिवर्तन हुँदा बागमती प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति समेत उक्त गठबन्धनमा उल्लेख गरिएको छ ।

















