कांग्रेस–एमालेको बहुमत समर्थनसहित बानियाँको मुख्यमन्त्रीमा दाबी

Image

हेटौंडा / बागमती प्रदेशमा सत्ता फेरबदलको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनापछि नयाँ नेतृत्व चयनको क्रम सुरु भएको हो।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोमबार एक विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई साउन २० गते मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका छन्। यो प्रक्रिया नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार अघि बढाइएको हो।

पूर्वमुख्यमन्त्री लामाले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) अनुसार साउन १८ गतेबाट लागू हुने गरी राजीनामा दिएका थिए, जुन प्रदेश प्रमुखले स्वीकृत गरिसकेका छन्।
यसैक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्ने दाबी गर्दै आधिकारिक पत्र प्रदेश प्रमुख समक्ष पेस गरेका छन्।

काँग्रेसका ३७ र एमालेका २७ जना गरी जम्मा ६४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको उल्लेख गरिएको छ।
दाबीपत्रमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर रहेको छ।
सत्ता समीकरणमा नयाँ मोड आएको छ, जसअनुसार आगामी दिनमा बानियाँ नेतृत्वमा नयाँ गठबन्धन सरकार बन्ने सम्भावना प्रबल देखिएको छ।