हेटौंडा / बागमती प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको प्रक्रिया आज औपचारिक रूपमा शुरु हुँदैछ। नेकपा एमाले संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गर्दैछन्। उनी नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा एमालेका तर्फबाट सहभागी हुने मन्त्रीहरूको नाम पनि अन्तिम चरणमा पुगेको छ।
एमाले स्रोतका अनुसार पूर्वस्वास्थ्य मन्त्री किरण थापा मगर पुनः दोहोरिंदै छन् भने अन्य पाँच मन्त्री नयाँ अनुहार हुने पक्का भएको छ। एमालेका अधिकांश मन्त्रीहरू आजै शपथ लिने कार्यक्रम तय भएको छ।
संभावित मन्त्रीहरूको सूची यसप्रकार रहेको छः
• किरण थापा मगर – स्वास्थ्य मन्त्रालय (पुनः नियुक्त)
• जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्रालय (काठमाडौँ)
• भरतबहादुर केसी– वन तथा वातावरण मन्त्रालय (दोलखा)
• मधुसुधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्रालय (ललितपुर)
• डा. दिनेशचन्द्र देवकोटा– भौतिक पूर्वाधार विकास मन्त्रालय (काठमाडौँ)
• बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय (काठमाडौँ)
आज दिउँसोभित्र कुनै अप्रत्याशित परिवर्तन नभएमा यिनै मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष शपथ लिने कार्यक्रम रहेको बुझिएको छ।
यसपटकको गठबन्धन सरकारमा नेपाली कांग्रेस पनि साझेदार बनेको छ। तर प्रारम्भिक चरणमा कांग्रेसका तर्फबाट दुई मन्त्री मात्रै सरकारमा सहभागी हुने संकेत स्रोतले दिएको छ।
नयाँ सरकारसँगै बागमती प्रदेशमा राजनीतिक स्थायित्व र सुशासनप्रति नागरिक अपेक्षा पुनः स्थापित भएको छ।

















