कैलाश–१० बेतिनीमा सामुदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन, सेवाको पहुँच विस्तारमा जोड

Image

हेटौंडा / कैलाश गाउँपालिका वडा नं. १० बेतिनीमा सामुदायिक स्वास्थ्य क्लिनिक भवनको मंगलबार एक समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले भवनको उद्घाटन गर्दै स्वास्थ्य र सरसफाईको क्षेत्रमा पालिकाले साझेदार संस्थासँग सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि सो सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष मुक्तानका अनुसार शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रका लागि १२ भन्दा बढी संस्थासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक वञ्चित नहोस् भन्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको क्लिनिकले आगामी दिनमा थप सुविधा र प्रभावकारी सेवा विस्तार गर्ने विश्वास व्यक्त गरे। साथै, होम डेलिभरी अन्त्यका लागि वडा नं. १० र ६ मा चालु आवमै प्रसूति सेवा सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए।

उक्त स्वास्थ्य क्लिनिकको भवन निर्माण प्रेम सेवा समाजको पहलमा सम्पन्न भएको हो। समाजकी अध्यक्ष मीरा स्याङ्तानका अनुसार तीन कोठे भवन निर्माणमा कुल लागत १९ लाख ९६ हजार ९२४ रुपैयाँ लागेको छ। जसमा कैलाश गाउँपालिकाबाट १० लाख, बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ५ लाख, र प्रेम सेवा समाजबाट ४ लाख ९६ हजार ९२४ रुपैयाँ सहयोग प्राप्त भएको थियो।

समाजकी अध्यक्ष स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा अध्यक्ष सूर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य एवं समाजकी कोषाध्यक्ष सुन्तली सुनुवार, ईएलसीएका प्रमुख दाता डा. चन्द्रन, शान्ति नेपालका अध्यक्ष विद्या मालाकार, सल्लाहकार डा. कृष्णमान शाक्य, कार्यकारी निर्देशक फूलमान शर्मा, समाजका संस्थापक अध्यक्ष वीरबहादुर सिंतान, नामटार स्वास्थ्य चौकीका प्रमुख रन्जेश कुमार पटेल, भाल्टार स्वास्थ्य केन्द्र प्रमुख सन्तोष साह, पाष्टर लालबहादुर वाइवा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा भवन निर्माणमा योगदान पुर्‍याउने गाउँपालिका अध्यक्ष, शान्ति नेपालका अध्यक्ष, प्रमुख दाता डा. चन्द्रन, र एक कठ्ठा जग्गा दान गर्ने नेपाल इसाई मण्डली स्मुर्ना मण्डलीलाई दोसल्ला अर्पण गर्दै विशेष सम्मान गरिएको थियो।