हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका–६, जोगिताल पुछार टोलमा सोमबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला चितवन, राप्ती नगरपालिका–१ निवासी अन्दाजी ३५ वर्षीय लालबहादुर मोक्तान रहेका छन्।
मोक्तानले आफूले मनहरी–६ स्थित खेतमा लगाएको बालीलाई जंगली जनावरबाट जोगाउनका लागि बिजुलीको नाङ्गो तारमार्फत करेन्ट प्रवाह गरेका थिए। बिहान करिब ९:०० बजे उक्त तारमा छुँदा उनलाई करेन्ट लागेको थियो।
करेन्टको झट्काले गम्भीर घाइते भएका मोक्तानको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ।
घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान अगाडि बढाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार खेतको सुरक्षाका लागि बनाइएको अवैध विद्युतीय जाल नै मृत्युको कारण बनेको देखिएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जिन्दगी प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ।

















