बैतडी : सुदूरपश्चिम प्रदेशका ६ स्थानसहित देशभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने भएका छन्।
गृह मन्त्रालयले सेवा प्रवाहलाई सहज र नागरिकमैत्री बनाउन देशभर २३ इलाका प्रशासन कार्यालय थप गर्ने प्रस्ताव अघि बढाएको हो।
सुदूरपश्चिममा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने स्थानहरूमा बैतडीको मेलौली, दार्चुलाको गोकुलेश्वर, बझाङको देउरा, डोटीको विपीनगर, अछामको साँफेबगर र बाजुराको कोल्टी रहेका छन्।
गृहमन्त्री रमेश लेखकका प्रेस संयोजक शेरबहादुर सिंहका अनुसार यो प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकबाट प्रशासन समितिमा पठाइएको छ। समितिले आवश्यक छलफलपछि कार्यान्वयन प्रक्रिया अघि बढाउनेछ।
गृह मन्त्रालयले भौगोलिक कठिनाइ, जनसंख्या तथा सेवा पहुँचमा देखिएको असमानता हटाउन इलाका प्रशासन कार्यालय विस्तार गर्न लागेको जनाएको छ।
मेलौली नगरपालिकाकी उपप्रमुख पार्वती बोहरा विष्टले इलाका प्रशासन कार्यालय स्थापना हुने निर्णयलाई स्वागत गर्दै यसले नागरिकले भोग्दै आएको कठिनाइ अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ।
गृह मन्त्रालयका अनुसार नागरिकताको प्रमाणपत्र लगायतका सेवा लिन जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता अन्त्य गर्दै सेवा स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यले यो कदम अघि बढाइएको हो।
















