बैतडी ।
बैतडीमा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउने नागरिकको संख्या बढ्दै गएका छन् । जिल्लाका स्थानीय तहहरुमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने अभियान सञ्चालन भएपछि राष्ट्रिय परिचय पत्र बनाउन इच्छुक नागरिकको संख्या बढ्दै गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
जिल्लामा अहिले सम्म ७४ हजार ९५ जनाको विवरण संकलन भईसकेको सूचना अधिकारी भारतीले बताए । जिल्लाका १० ओटा स्थानीय तह मध्ये ६ ओटामा विवरण संकलनको काम सम्पन्न भएको छ । राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन अभियान अन्तर्गत डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा विवरणको संकलनको काम सकिएको छ ।
यस्तै मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम भईरहेको छ। बाँकी रहेका तीन स्थानीय तहमा विवरण संकलनको काम सकिएपछि दशरथचन्द नगरपालिकामा विवरण संकलन अभियान सञ्चालन हुने सूचना अधिकारी भारतीले बताए ।
राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन भएका स्थानीय तहमध्ये सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १४ हजार २८४ जनाको विवरण संकलन भएको छ । यस्तै पाटन नगरपालिकामा १२ हजार ११७ जना, दोगडाकेदार गाउँपालिकामा ९ हजार ३०८, डिलाशैनी गाउँपालिकामा ८ हजार ३९६, सिगास गाउँपालिकामा ७ हजार २९६, सुर्नया गाउँपालिकामा ६ हजार ७२८ र मेलौली नगरपालिकामा ७ हजार ४४ जनाको विवरण संकलन भएको छ ।
पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा विवरण संकलन भर्खर शुरु भएको छ। अहिले सम्म जिल्लामा ६९.२ प्रतिशत नागरिकको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन भएको सूचना अधिकारी भारतीले बताए । राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचय पत्र भएकाले सबैलाई नाम दर्ता गराउन जिल्ला प्रशासन कार्यालयले आग्रह समेत गरेको छ ।