Khabar Board
Flash logo up side
Nirbachan aayog

शिक्षकको भैँसी फार्म : दैनिक तीन हजार रुपैयाँ आम्दानी

Nirbachan m

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ का प्रकाशबहादुर मल्ल पेसाले शिक्षक हुन् । शिक्षक पेसासँगै मल्लले व्यावसायिक भैँसी फार्म सञ्चालन गर्दै आएका छन् ।

बिहानीको झिसमिसेमै ब्यूँझने मल्लले फार्ममा पालिएका भैँसीको गोबर सोहर्ने, घाँस काटेर खुवाउन र पानीको जोहो गर्ने गर्छन् । त्यसपछि फार्ममा पालिएका भैँसीको दूध दुहेर ठिक्क पार्छन् । दूध बजारमा बिक्री गर्न डिब्बामा राखेर गाउँको दूध सङ्कलन केन्द्रमा पुग्छन् ।

फार्मका भैँसीको दूधसँगै गाउँका बासिन्दाको दूध मोटरसाइकलमा बोकेर वनसमिति, झलारी बजारमा रहेका डेरी पसलमा लगेर बेच्छन् । दैनिक ६५ देखि ८० लिटर दूध बिक्री गर्नका लागि बजारमा पुर्याउने गरेको उनी बताउँछन् ।

‘बजारमा गाईको दूधको तुलनामा भैँसीको दूधमा माग अधिक रहेको छ,’ उनले भने, ‘प्रतिलिटर दूध रु ६५ मा बिक्री हुने गरेको छ । डेरी सञ्चालकले नगद रकम दिएर दूध खरिद गर्ने गरेका छन् ।’

‘बिहान ७ देखि दिउँसो १२ बजेसम्म विद्यालयमा विद्यार्थीलाई पढाउँछु । विद्यालयबाट फर्केपछि पुनः फार्ममै भैँसीकै रेखदेखमा खटिनु पर्दछ ।’ श्रीमतीले समेत फार्ममा पालिएका भैँसीको हेरचाहमा सहयोग पुर्याउने गरेको उनले बताए ।

मल्ल गाउँकै धर्मजनता माविमा दुई दशकदेखि राहत कोटामा कार्यरत शिक्षक हुन् । विद्यालयमा समेत उनी मिहिनेती शिक्षकका रुपमा परिचित छन् । मल्लको फार्ममा हाल नौवटा भैँसी छन् । फार्ममा उनले रु १० लाख बढी लगानी गरे ।

फार्ममा दुईवटा भैँसी मात्रै दूध दिने भएकाले गाउँका बासिन्दाको समेत दूध सङ्कलन गरी बजारमा बेच्नु परेको उनी बताउँछन् । दैनिक रु पाँच हजारभन्दा बढीको दूध उनले बिक्री गर्छन् । जसबाट मल्लले रु तीन हजार जति आम्दानी गर्छन् ।

‘घरमै परम्परागत रुपमा पालिएका भैँसीबाट एकबाट दुई गर्दै छ पुर्याएँ,’ उनले भने, ‘तीनवटा बाह्य क्षेत्रबाट खरिद गरेर ल्याएको हो ।’ साँझबिहान गरी २० लिटर दूध उत्पादन हुने गरेको छ ।

‘जागिरभन्दा भैँसी फार्म खोलेर काम गर्नु निकै राम्रो छ । कसैको अधिनमा बसेर काम गर्नु पर्दैन । आफैं मालिक, आफैं कामदार बनेर काम गर्नुको मज्जा नै बेग्लै छ । सोचे जस्तै आम्दानी हुने भएकाले पैसाका लागि अरू कहाँ हात थाप्नु पनि परेन,’ उनले भने । फार्मलाई अझै व्यवस्थित गरी भैँसीको सङ्ख्या २० पुर्याउने लक्ष्य उनले लिएका छन् ।

‘मिहिनेत धेरै भए पनि कमाई पनि कम्ती छैन,’ उनी भन्छन्, ‘फार्मको स्तरोन्नति गरी कामदार राखेर व्यवसायलाई विस्तार गर्नका लागि कार्य अगाडि बढाउने सोच अघि सारेको छु ।’ आफ्नै स्वामित्वको पाँच कट्ठा जग्गामा मल्लले सुपरनेपियर जातको घाँससमेत रोपेका छन् । खेतमै रोपिएको घाँसले भैँसीलाई खुवाउन पर्याप्त भएको उनको भनाइ छ ।

‘स्वदेशमा रोजगारी छैन भनेर धेरै युवा विदेसिने गरेका छन्,’ उनले भने, ‘आफैंले स्वरोजगारी सृजना गरे विदेशको भन्दा परिवारसँगै बसेर गतिलो आम्दानी लिन सकिन्छ । थोरै लगानी गरेर पनि बढी आम्दानी लिन सकिने व्यवसायको कमी छैन । त्यसका लागि लगनशीलता र परिश्रम भने आवश्यकता पर्दछ ।’ फार्ममा भैँसीसँगै मल्लले बाख्रपालन गरेका छन् । फार्ममा १५ वटा उन्नत जातका बाख्रासमेत पालिएका छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.