बैतडी ।
कोरोना भाइरसको संक्रमण फेरी फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
भीडभाडमा नजान, घर बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरिएको हो । यस्तै कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेको भएमा नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत आग्रह गरिएको छ ।
बैतडी प्रशासन कार्यालयमा पहिलोपटक विद्युतीय टोकन प्रणाली सुरु
जिल्ला प्रशासन कार्यालयमा पहिलोपटक विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ। सेवाग्राहीलाई सेवा लिन सहज होस् भनेर आइतबारदेखि विद्युतीय टोकन प्रणाली सुरु गरिएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार प्रशासन कार्यालयमार्फत प्रदान हुने सेवालाई सहज रुपले प्रदान गर्नका लागि विद्युतीय टोकनको व्यवस्था गरिएको र टोकनका आधारमा सेवा दिने कार्य सुरु भएको हो।
टोकन प्रणालीका आधारमा जसले नाम दर्ता अगाडि गराएको छ उसले अगाडि सेवा पाउने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। प्रशासन कार्यालयका सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ। उनले भने, “सबैलाई समान किसिमले सेवा दिने वातावरण मिलाउन र सेवालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो कार्य सुरु गरेका हौँ।”
जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र लिन, नागरिकताको प्रतिलिपि लिन, राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न, राहदानी बनाउन, नाबालिग परिचयपत्र बनाउनेलगायत अन्य सेवा लिन आउने सबैलाई टोकन प्रणालीका आधारमा सेवा दिने कार्य सुरु भएको हो। टोकन प्रणालीले लाइनमा उभिनुपर्ने झन्झट हटेर सेवाग्राहीलाई सजिलो भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा हाल दैनिक १५० जनाले सेवा लिने गरेका सूचना अधिकारी भारतीको भनाइ छ।