कञ्चनपुर । त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक डा. कृष्णबहादुर चन्दको निधन भएको छ। बुधबार ५१ वर्षको उमेरमा हृदयाघातका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।
महेन्द्रनगरको मन्त्र हस्पिटलमा चन्दको उपचारका क्रममा निधन भएको हो। उनी त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ बहुमखी क्याम्पस (महेन्द्रनगर) मा २०५६ सालदेखि सहप्राध्यापक थिए।
गणित विषय प्राध्यापन क्षेत्रमा अमर पहिचान छाडेर चन्द बिलाएका छन्। उनले २०५४ सालतिर त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्वर्ण पदक प्राप्त गरेका थिए।
भारतको पिथौरागढबाट आइएससी अध्ययन गरेका चन्दले त्रिभुवन विश्वविद्यालयको अमृत साइन्स क्याम्पसबाट बीएससी र एमएससी अध्ययन गरे।
विद्वान् व्यक्तित्व चन्दको नाम गणित प्राध्यापनका क्षेत्रमा प्रख्यात् छ। सरल स्वभाव र प्रभावकारी अध्यापन शैलीका कारण उनी विद्यार्थीमाझ लोकप्रिय थिए।
‘विद्यालयदेखि माथिल्लो कक्षा तथा विभिन्न प्रतिस्पर्धामा उहाँ कहिल्यै दोस्रो हुनुभएन। मिजासिलो स्वभाव र प्राध्यापन कला अतुलनीय थियो। जसले उहाँ विद्यार्थीमाझ निकै लोकप्रिय हुनुहुन्थ्यो,’ शिक्षक उत्तम विष्ट भन्छन्, ‘शिक्षा क्षेत्रका धरोहर गणितका मूर्धन्य व्यक्तित्व गुमाउँदा देशलाई अपूरणीय क्षति भएको छ।’
सम्भवतः सुदूरपश्चिम क्षेत्रबाट त्रिभुवन विद्यालयमा स्नातकोत्तर तहमा गणितमा स्वर्ण पदक ल्याउने उनी पहिला र एक्ला व्यक्ति हुन्। वि.सं. २०२९ मा बैतडीको लिस्केडामा जन्मिएका चन्द कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐँठपुरमा बस्थे। उनका एक छोरा र दुई छोरी छन्।
शैक्षिक धरोहर चन्दको निधनले गणित प्राध्यापन क्षेत्रमा देशले मूर्धन्य व्यक्ति गुमाएको सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक महेन्द्र चन्द बताउँछन्।
‘देशले गणितको एक विद्वान् गुमाएको छ। उहाँको निधनले यस क्षेत्रको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,’ उनले भने, ‘हामी स्तब्ध भएका छौँ।’ चन्दको बिहीबार भुजेला आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।