संविधान दिवस : बैतडीमा ब्याडमिन्टन प्रतियोगिता, भट्ट र विष्टको जोडीले जित्यो उपाधि

Image

बैतडी । संविधान दिवसका अवसरमा बैतडीमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि ईश्वरी भट्ट र प्रकाश विष्टको जोडीले जितेको छ।

नवनिर्मित जगन्नाथ बहुउद्देश्यीय हलमा सम्पन्न फाइनल खेलमा आनन्द थापा र कैलाश थापाको जोडीलाई २-० को सोझो सेटमा पराजित गर्दै भट्ट र विष्टको जोडीले उपाधि जितेको म्याच रेफ्री दिनेशसिंह ठगुन्नाले जानकारी दिए।

पहिलो सेट २१-१३ ले जितेको भट्ट र विष्टको जोडीले दोस्रो सेट पनि २१-१३ ले नै जित्दै च्याम्पियन बन्यो।

च्याम्पियन बनेसँगै भट्ट र विष्टको जोडीले नगद १५ हजार रुपैयाँ, मेडल र प्रमाण पायो। उपविजेता थापाद्वयको जोडीले नगद १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगितामा चन्द्र डोबाल र प्रेम बोकटी तथा भुपाल थापा र केशव महराको जोडी तेस्रो भएको छ। तेस्रो भएका जोडीलाई नगद ५/५ हजार, मेडल र प्रमाणपत्र दिइयो।
तीन दिन सञ्चालन भएको प्रतियोगितामा बैतडीसँगै, दार्चुला, डडेल्धुराका साथै भारतीय गरेर ३२ टोली सहभागी रहेका थिए।

विजेता, उपविजेतालगायत खेलाडीहरूलाई संविधान दिवस जिल्ला मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले पुरस्कार वितरण गरे।

प्रतियोगिताको समापन समारोहमा नवनिर्मित जगन्नाथ बहुउद्देश्यीय हल निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ।

सम्मानित हुनेहरूमा तरूण दलका कार्यवाहक अध्यक्ष महेश दत्त भट्ट, शहरी विकास तथा भवन कार्यालयका गोविन्द देवकोटा, पूर्वाधार कार्यालयका धिरेन्द्र भट्ट, सब-इन्जिनियर शहरी विकास तथा भवन कार्यालयका सोमित राय, जय जगन्नाथ निर्माण सेवाका दिनेश ठगुन्ना, नेपाल पूर्वाधार विकास उद्योग प्रालिका लिलाधर कडेल, श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, ५१ नं गुल्म बैतडी रहेका छन्।

यसैबीच संविधान दिवसलाई भव्यतापूर्वक मनाउन ब्याडमिन्टन प्रतियोगिताका साथै सरसफाई कार्यक्रम, दीपावली, प्रभातफेरी र कोणसभा पनि आयोजना गरिएको छ।