पासोमा परेको चितुवा तोडेर भागेपछी…

Image

बैतडी । बैतडीमा पासोमा परेको चितुवा पासो तोडेर भागेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा खालमा स्थानीयहरूले स्यालका लागि थापेको पासोमा शुक्रवार राति १२ बजेतिर चितुवा परेको थियो।

पासोमा परेको उक्त चितुवा शनिवार दिउँसो २ बजेतिर पासो तोडेर भागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।

स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि स्थानीयले स्यालका लागि पासो थापेका थिए। उक्त पासोमा शुक्रवार राति १२ बजे परेको चितुवा झण्डै १४ घण्टापछि पासो चुँडालेर भागेको हो।

चितुवाको बाँया खुट्टा पासोमा परेको थियो। चितुवा भागेपछि चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आइरहेको प्राविधिकहरूको टोली बाटोबाटै फर्किएको छ। चितुवा घाइते अवस्थामा रहेकाले सतकर्ता अपनाउन प्रहरीले आग्रह गरेको छ।