बैतडी । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भोलि जात्रा लाग्ने भएको छ । जिल्लको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा चैतेदशैंको अवसर पारेर जात्रा लाग्ने भएको छ ।
चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा भोलि भव्य जात्रा लाग्ने निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले जानकारी दिए । चैते नवरात्रीको अवसरमा मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा शुरु हुने र चैत्राष्टमीका दिन बलि दिने चलन रही आएको छ ।
गत विगतमा चैत्र महिनामै जात्रा हुने गरेको भएपनि यो वर्ष अधिकमासका कारण बैशाखमा जात्रा लागेको पुजारी भट्टले बताए । आज सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका दिन पशुबलि दिने चलन रही आएको उनले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको छ ।
दशैंको बेला महाष्टमीका दिन पशुबलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती मन्दिरमा चैतको महिनाको चैतेदशैंमा पनि जात्रा हुने गरेको छ । यस्तै अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।