तेक्वान्दो खेलाडीलाई ५ हजार पुर्‍याउने लक्ष्यसहित बज्राचार्य पुनः अध्यक्ष”

Image

हेटौंडा/ मकवानपुर जिल्ला तेक्वान्दो संघको सातौं जिल्ला अधिवेशनले लालकाजिरत्न बज्राचार्यलाई पुनः अध्यक्षमा चयन गरेको छ। नेतृत्वमा निरन्तरता पाएका बज्राचार्यले अबको कार्यकालमा जिल्लाभर ५ हजार खेलाडी पुर्‍याउने लक्ष्य अघि सारेका छन्।

शनिबार सम्पन्न चौथो वार्षिक साधारण सभा तथा अधिवेशनले उपाध्यक्षमा निरुकुमारी मगरलाई १२ मतसहित निर्वाचित गर्‍यो। उनका प्रतिस्पर्धी विमल विकले ६ मत पाएका थिए। अर्का उपाध्यक्ष मानबहादुर वाइबा, सचिव ओमबहादुर मोक्तान र कोषाध्यक्ष रविन्द्र डङ्गोल भने सर्वसम्मत निर्वाचित भए।

सदस्यतर्फ सुरशा ढुंगाना (१७ मत), पवन अगस्ती (१४ मत), हरि भुजेल (१८ मत) र शिवहरि राई (१८ मत) विजयी भए भने गोपाल सुनार, माधवलाल श्रेष्ठ, पुरुषोत्तम रुपाखेति र विवेक राई पनि सदस्य बने।

अध्यक्ष बज्राचार्यले आफ्नो प्रस्तुतिमा चार वर्षअघि जिल्लामा थोरै डोजाङ मात्र रहे पनि अहिले वडावडामा तेक्वान्दो खेलाडी सक्रिय रहेको बताए। “स्थानीय तह, प्रदेश सरकार र संघको सहकार्यले यो सम्भव भएको हो,” उनले भने, “अब जिल्लाभर ५ हजार खेलाडी पुर्‍याउने हाम्रो लक्ष्य हो।”

कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी प्रमुख अतिथि थिए। उनले बज्राचार्यको प्रस्तुति र लक्ष्यको प्रशंसा गर्दै खेलकुदलाई शिक्षा र नेतृत्व विकाससँग जोड्नुपर्ने धारणा राखे।

बागमती प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष सानु लामा, निर्वतमान अध्यक्ष वेष खड्गी, अध्यक्ष राजकुमार मोक्तानलगायतको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले खेल क्षेत्रमा सरकारी लगानी बढाउनुपर्नेमा जोड दिए।