थाहा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड र मेयरकप प्रतियोगिता सम्पन्न, जनकल्याण माविको वर्चस्व

Image

हेटौंडा/ थाहा नगरपालिका–२०८२ अन्तर्गत तीन दिनसम्म चलेको आठौं राष्ट्रपति रनिङ शिल्ड र मेयरकप प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रपति रनिङ शिल्डको उपाधि लगातार उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण माध्यमिक विद्यालयले जितेको हो।

प्रतियोगितामा जनकल्याण माविले १७ स्वर्ण, ११ रजत र ६ कास्य पदकसहित कुल ३४ पदक हात पारेको छ। स्वच्छन्द भैरव मावि ९ पदकसहित दोस्रो र बागेश्वरी मावि २० पदकसहित तेस्रो स्थानमा रहे। उपाधिसँगै विजेताले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।

उक्त अवसरमा आयोजित मेयरकप भलिबल प्रतियोगितामा छात्रतर्फ जनकल्याण मावि र छात्रातर्फ मत्स्यनारायण मावि विजेता बने। प्रतियोगितामा १७ विधामा १,३१८ विद्यार्थी सहभागी थिए भने १८ विद्यालयले भाग लिएको थियो। विजेता स्कुलहरुलाई मेयर विष्णु विष्ट लगायतले पुरस्कार वितरण गरी कार्यक्रम समापन भएको थियो।