हेटौंडा/ हेटौँडा उपमहानगरपालिका–४ ले आयोजना गरेको तेस्रो वडा–स्तरीय खेलकुद महोत्सवको अवसरमा बृहत् शैक्षिक तथा खेलकुद र्याली सम्पन्न गरिएको छ। र्यालीको उद्घाटन संविधानसभाका सदस्य अनन्त पौडेलले गर्दै वडाले भौतिक पूर्वाधारसँगै शिक्षा र खेलकुदलाई प्राथमिकता दिएकोमा खुशी व्यक्त गरे। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँछन्।
वडा अध्यक्ष नवीन सिग्देलले खेलकुद र शिक्षालाई सँगै अघि बढाउनुपर्नेमा जोड दिए। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, भुटनदेवी माविका प्र.अ. सुर्यप्रसाद घिमिरे**लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
त्यसै गरी श्रमिक माविका व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, वडा सचिव रामप्रसाद गुरागाईँ, आधुनिक राष्ट्रिय माविका प्र.अ. रामसागर गुरागाईँ लगायतको उपस्थिति थियो।
शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालका अनुसार १२ विद्यालयका विद्यार्थी खेलकुद महोत्सवमा सहभागी भएका छन्। विभिन्न खेल—फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, टग अफ वार, एथलेटिक्स—सहित हाजिरीजवाफ, वक्तृत्व, वादविवाद, कविता, हिज्जे, क्विज प्रतियोगितासमेत सञ्चालन गरिएको खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिए।
प्रतियोगिताका विजेताहरूलाई फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।












