हेटौंडा/ हेटौंडामा भइरहेको खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत आयोजित जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिताको उपाधि बिरु गुरुङ र चेतन बिकले जितेका छन् ।
२७ टोलीलाई पछि पार्दै बिरु र चेतनले जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिताको उपाधि जितेका हुन् । प्रतियोगितामा महेश बोहरा र राम थापा मगरको टोली उपविजेता हुँदा अजय बजगाइ र डा.नितिन थापा तथा भक्तराज जोशी र सुमन अर्यालको टोलीले सान्त्वना स्थान हासिल गर्यो । शुक्रबारबाट सञ्चालन भएको प्रतियोगितामा २८ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले समान ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद क्षेत्रको विकासका लागि भन्दै २९ गतेबाट हेटौंडाको टिसिएन चौरमा सुरु भएको खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा विभिन्न ६ वटा विधामा खेलकुद प्रतियोगिता सञ्चालन भैरहेको छ ।
जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता, जिल्लास्तरीय महिला र पुरुष १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न हुँदा आज चैत्र १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, चैत्र ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता, ९ र १० गते जिल्लास्तरीय कराँते प्रतियोगिता तथा चैत्र ११ देखि १३ गतेसम्म तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता हुने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख तथा सेमिफाइनल खेल्ने २ टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र अन्य विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष मोक्तानले बताए ।
जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता, उपविजेतालाई क्रमशः नगद १ लाख र ५० हजार तथा सेमिफाइनल पुग्ने टोलीलाई समान १५ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार तथा अन्य विधागत उत्कृष्टलाई नगदसहित पुरस्कारको व्यवस्था रहेको आयोजक खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले बताए ।

















