मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, क्वाटरफाइनल समीकरण पूरा

Image

हेटौंडा–१०, टिसीएन चौरमा जारी दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। आइतबारको लिग कम नकआउट खेलपछि क्वाटरफाइनल समीकरण पूरा भएको छ। चारवटा टिम समूह विजेता र चारवटा उपविजेताले क्वाटरफाइनलमा स्थान बनाएका छन्।

पहिलो खेलमा मंगलेश्वर युवा क्लबले सफल केयर क्लबलाई २५-१४ र २५-१३ ले पराजित गरेको छ। दोस्रो खेलमा नव प्रतिभा सांस्कृतिक युवा क्लबले पशुपती युवा क्लबलाई २५-१२ र २५-२१ ले पराजित गरेको छ। मनहरी गाउँपालिकाले मिलन युवा क्लबलाई २५-१४ र २५-१८ ले पराजित गरेको छ भने छहारी युवा समाजले २५-१७ र २५-१४ को सोझो सेटमा आफ्नो जित पाएको छ।

क्वाटरफाइनल खेल सोमबार बिहान ११ बजेबाट सुरु हुनेछ। पहिलो खेल मंगलेश्वर युवा क्लब र मिलन युवा क्लबबीच हुनेछ भने अन्य खेलमा नव प्रतिभा युवा क्लब–बागमती गाउँपालिका, मनहरी गाउँपालिका–सफल केयर क्लब, छहारी युवा समाज–पशुपती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। सेमीफाइनलबाट बेष्ट अफ ५ खेल खेलाइनेछ।

प्रतियोगितामा विजेता टिमले रु १ लाख, उपविजेताले रु ५० हजार, र सेमीफाइनलमा पराजित टिमले रु १५÷१५ हजार पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई रु ५ हजार र अन्य उत्कृष्ट खेलाडी, प्रशिक्षक र लिब्रोलाई रु २÷२ हजार पुरस्कार दिइनेछ।

प्रतियोगिताको उद्घाटन राजकुमार मोक्तानको सभापतित्वमा र वसन्त सिटौलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। महोत्सवमा पुरुष भलिबलसँगै कराँते, तेक्वान्दो र महिला भलिबलका खेलहरू पनि सञ्चालन हुनेछन्।