शीर्ष स्थानका लागि काठमाडौं र सुदूरपश्चिम तथा प्लेअफ समीकरणका लागि चितवन र जनकपुर आमनेसामने हुँदै

Image
default

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण अन्तर्गत आज (शुक्रबार) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्त्वपूर्ण खेल हुँदैछन्।

पहिलो खेलमा दिउँसो १२:३० बजे काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्नेछन् भने दोस्रो खेलमा साँझ ४:३० बजे चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। प्रतियोगिताको अघिल्लो नतिजा अनुसार लुम्बिनी लायन्स ६ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुग्ने पहिलो टोली बनिसकेको छ।

आजको पहिलो खेल शीर्ष स्थानमा उक्लिने होडका रूपमा निकै महत्त्वपूर्ण मानिएको छ। अंक तालिकामा समान ८ अंक जोडेका काठमाडौं ५ खेलमा ४ जितसहित दोस्रो स्थानमा छ भने सुदूरपश्चिम ६ खेलमा ४ जित निकाल्दै तेस्रो स्थानमा रहेको छ।

अघिल्ला संस्करणका भेटमा सुदूरपश्चिम २–० ले अगाडि रहेकाले काठमाडौं आज घरेलु मैदानमा बदला लिँदै शीर्ष स्थानमा उक्लने दाउमा छ। उता कप्तान दीपेन्द्रसिंह ऐरी, डेभिड मिलर, ब्रान्डन म्याकमुलेन र स्कट कुगेलेइन जस्ता खेलाडीको साथ पाएको सुदूरपश्चिम आफ्नो जितको लयलाई निरन्तरता दिने रणनीतिमा छ।

त्यसैगरी, आजै हुने दोस्रो खेल दुवै टोलीका लागि प्लेअफ यात्राका दृष्टिले निर्णायक बनेको छ। चितवन राइनोज ५ खेलमा २ जित, २ हार र १ खेल वर्षाका कारण रद्द हुँदा ५ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।

अर्कोतर्फ, ६ खेलबाट मात्र ४ अंक जोडेर छैटौँ स्थानमा रहेको जनकपुर बोल्ट्सका लागि आजको खेल ‘गर या मर’ को अवस्थामा छ। लगातारको हारपछि दबाबमा रहेको जनकपुर कप्तान हम्माद आजम, मोइन अली र सैफ हसनको प्रदर्शनमा भर पर्दै प्लेअफको आशा जीवित राख्न जित्नैपर्ने दबाबका साथ मैदान उत्रिनेछ।