हेटौँडा । हेटौँडा जेसीजले मङ्सिर २ देखि ५ गतेसम्म विभिन्न सामाजिक, शैक्षिक तथा खेलकुद कार्यक्रम आयोजना गरी ‘जेसीज विक २०२६’ मनाउने भएको छ ।
मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जेसीजले चारदिने कार्यक्रमअन्तर्गत रक्तदान, वक्तृत्वकला, साइबर सुरक्षा सचेतना, सामग्री हस्तान्तरण, हाजिरीजवाफ प्रतियोगिता र मैत्रीपूर्ण क्रिकेट आयोजना गरिने जानकारी दिएको हो ।
मङ्सिर २ गते बुद्धचोकमा रक्तदान तथा जेसीज सचिवालयमा वक्तृत्वकला प्रतियोगिता हुनेछ । मङ्सिर ३ गते नवलपुरस्थित त्रिभुवन माविमा साइबर सुरक्षा सचेतना कार्यक्रम र मामाघर नेपालमा सामग्री हस्तान्तरण गरिनेछ ।
त्यस्तै, मङ्सिर ४ गते अन्तरमाध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा मङ्सिर ५ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुनेछ । सोही दिन जेसीज सचिवालयमा समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।
जेसीज विक २०२६’ का मुख्य कार्यक्रम संयोजकमा सञ्जयकुमार न्यौपाने र सहमुख्य कार्यक्रम संयोजकमा विनोद वाग्ले रहनुभएको छ ।















