धनगढी । धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत बुधवार भएका २ खेलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी भएका छन्
बुधवार भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधाराले सैनिक आवासीय महाविद्यालय तेघरीमाथि १०० रनको सानदार जीत दर्ता गरेको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको शारदाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो । १७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको सैनिकले १५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।
सैनिकका खड्क बोहराले २७ र प्रज्वल थापाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान शारदाका बलर सामु टिक्न सकेनन् । सैनिकलाई सस्तैमा समेट्न शारदाका विकास सुनारले ५ विकेट लिए । अर्जुनसिंह साउँदले ३ र मिलन बोहराले २ विकेट लिए ।
यसअघि शारदाका लागि आक्रामक पारी खेलेका राजेश साउँदले २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४५ रनको पारी खेले । उसका सुनिल चन्दले ४१, कप्तान गणेश बिटालुले २७, सागर चन्दले २० रन बनाएर आउट हुँदा हेमन्त धामी ११ रनमा अविजित रहे । सैनिकका खड्क बोहराले ३ र आकाश चन्दले २ विकेट लिए ।
खेलको ‘प्लेयर अफ दी म्याच’ विकास सुनार घोषित भए । गेम चेन्जर अवार्ड अर्जुनसिंह साउदले पाउँदा, सर्वाधिक छक्काको अवार्ड राजेश साउँद र सुनिल चन्दले पाए ।
बुधवारै भएको दोस्रो खेलमा स्टेपिङ स्टोनले सत्यवतीमाथि ३० रनको सान्त्वना जीत निकाल्न सफल भयो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो । १५८ रनको विजयी लक्ष्य पछ्याएको सत्यवतीले १८.४ मा १२७ रन मात्रै बनाउन सक्यो ।
उसका लागि आदील अन्सारीले २५, सन्तोष कार्कीले २४, खगेन्द्र जोशीले २२, सुजन गौतमले १६, नीरज भट्टले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । बलिङतर्फ स्टेपिङका दिनेश ओडले चार, कपिल मिश्र, भुपेश जोशी, वीरेन्द्र चन्दले समान २/२ विकेट लिए ।
यसअघि स्टेपिङका लागि अभिषेक कुँवरले ४१ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ६५ रनको उत्कृष्ट पारी खेले । दिनेश ओडले २९, वीरेन्द्र चन्दले २१, आर्यन दानपालीले १९ र विशाल विष्टले ११ रन बनाए ।
बलिङतर्फ सत्यवतीका नीरज भट्ट र सन्दीप खत्रीले समान २/२ विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ अभिषेक कुँवर भए । गेम चेञ्जर अवार्ड दिनेश ओडले पाउँदा सर्वाधिक छक्काको अवार्ड पनि अभिषेकले नै पाए । सत्यवती यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने स्टेपिङ उपाधि होडबाट बाहिरिसकेको टीम हो ।
समूह चरणको अन्तिम खेल बिहीवार बिहान ९ः३० बजे काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कूल र होलिल्याण्ड स्कूल अत्तरियाबीच हुनेछ । बिहीवारको खेल जितेको खण्डमा होलिल्याण्ड सेमिफाइनल प्रवेश गर्नेछ । हिमालयन ह्वाइट हाउस, सत्यवती र विद्या भुषण यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।