ए डिभिजन लिग फुटबलमा आज २ राेमाञ्चक खेल

Image

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो १ बजे सुरु हुनेछ । जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

आफ्नो अन्तिम खेलमा जित निकाल्दै जावलाखेल र संकटा लिगको सुखद अन्त्य गर्ने योजनामा हुनेछन् । लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने यी दुई टिम बराबरीको स्थितिमा छन् ।

पछिल्ला पाँच संस्करणका चार खेलमा तीन बराबरीमा टुंगेको छ । यी दुई टिमबीचको खेल वर्ष ०७६ १–१, वर्ष ०७० मा ०–० र वर्ष ०६९ मा पनि ०–० मा टुंगेको थियो ।

वर्ष ०७५ मा भने संकटा जावलाखेलमाथि २–० ले विजयी रहेको थियो । जारी लिगमा जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । थ्री स्टारले ए डिभिजनको इतिहासमा कुनै एक टिममाथि लगातार प्रभुत्वशाली खेल प्रदर्शन गरेको छ भने त्यो ब्रिगेड ब्वाइजमाथि पनि हो ।

यसपल्टको संयोग कस्तो पनि जुरेको छ भने यो खेल अगाडि नै ब्रिगेड ब्वाइज रेलिगेसनमा परिसकेको छ र कम्तीमा अहिलेको लागि यो उसको अन्तिम माथिल्लो डिभिजनको खेल हुनेछ ।

लिगका पछिल्ला पाँच संस्करणमा यी दुई टिमबीच तीन खेल भएकामा सबैमा थ्री स्टार विजयी रहेको छ । थ्री स्टार वर्ष ०७६ मा ३–१, वर्ष ०७५ मा ५–१ र वर्ष ०६८ मा २–० ले विजयी रहेको थियो ।

जारी लिगमा ब्रिगेड १२ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ब्रिगेड रेलिगेसनमा परिसकेको छ । थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

ब्रिगेड १२ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ब्रिगेड रेलिगेसनमा परिसकेको छ । थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ब्रिगेड र थ्री स्टार पनि जित निकाल्दै सिजनको अन्त्य गर्न चाहन्छ ।