अष्ट्रेलियाकी एलिस पेरीले बनाइन् विश्वकीर्तिमान

Image

काठमाडौं । अस्ट्रेलिया महिला क्रिकेट टिमकी स्टार अलराउन्डर एलिस पेरीले विश्वकीर्तिमान बनाएकी छन् । उनले टी-२० क्रिकेटमा ३०० विकेट लिने र ५ हजारभन्दा बढी रन बनाउने खेलाडी बन्दै कीर्तिमान बनाएकी हुन् । उनले यो उपलब्धि अन्तर्राष्ट्रिय क्रिकेट, विभिन्न लिग तथा प्रतिष्ठित घरेलु प्रतियोगिता खेल्दै हासिल गरेकी हुन् ।

एलिसले अष्ट्रेलियाका लागि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । उनले तीनपटक आईसीसी महिला क्रिकेट अफ इयर इवार्ड पनि जितिसकेकी छन् । उनले २०१७, २०१९ र २०२० मा यो प्रतिष्ठित अवार्ड जितेकी थिइन् । त्यसका अलावा उनी अष्ट्रेलियाको सर्वश्रेष्ठ वुमन्स क्रिकेटर अफ द इयरबाट पनि सम्मानित भइसकेकी छन् ।

एलिसाले हालसम्म १० टेष्ट म्याचमा तीन अर्धशतक र दुई शतकसहित ७५२ रन र ३७ विकेट लिएकी छन् । त्यस्तै, उनले वानडे क्रिकेटमा ९७ पारीमा २८ अर्धशतक र दुई शतकको मद्दतमा ३ हजार २०६ रन बनाएकी छन् ।

यो प्रारूपमा एलिसले १५६ विकेट पनि लिइसकेकी छन् । उनी वानडे वरियताको अलराउन्डरतर्फ शीर्ष, बलिङतर्फ छैटौं र ब्याटिङतर्फ १० स्थानमा छिन् । एलिसले अष्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय फुटबल पनि खेलिसकेकी छन् । उनले क्रिकेट र फुटबलमा १६ वर्षको उमेरमा डेब्यू गरेकी थिइन् ।