काठमाडौं
यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा ओमानविरुद्ध नामिबिया १ सय १० रनले विजयी भएको छ। नामिबियाले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको ओमानले ४२.१ ओभरमा सबै विकेट गुमाएर १ सय १६ रन मात्र बनाउन सक्यो।
उसका लागि कप्तान खावर अलीले ४३, सन्दीप गौडले १७, मोहम्मद नदीमले १५ र कश्यप प्रजापतिले १२ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्।
बलिङमा जेजे स्मित, टांगेनी लुंगामेनी, डेभिड विसे र जान फ्रीलिंकले सार्वधिक २-२ विकेट लिए। यसअघि आईसीसी मैदान दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९।५ ओभरमा सबै विकेट गुमाएर २ सय २६ रन बनाएको थियो।
उसका लागि कप्तान गेर्हार्ड इरास्मसले शतकीय पारी खेले। उनले १२० बलमा ९ चौका र ३ छक्कासहित नटआउट १ सय २० रनको योगदान दिए। उनको यो पहिलो वानडे शतक हो।
यसका साथै उनको यो उच्च वानडे स्कोर पनि हो। यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ८८ रन थियो। यस्तै, बर्नार्ड स्कोलट्ज़ले ३०,स्टेफन बार्डले २६, जन निकोल लोफ्टी–इटनले २१ र माइकल भ्यान लिङ्गेनले १० रन बनाए।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। ओमानका लागि बिलाल खानले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए।
यस्तै, कलीमुल्लाहले २, खावर अली र नेस्टर धम्बाले १-१ विकेट लिए। दुई विकेट रनआउटको रूपमा प्राप्त भयो। हाल विश्वकप लिग–२ को अंक तालिकाको शीर्ष स्थानमा ओमान कायमै छ। उसले २५ म्याचमा १५ मा जित र ८ खेलमा हार बेहोरेको छ।
हाल विश्वकप लिग-२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ । ओमानले ३२ अंक जोडेको छ। ओमान २५ म्याच खेल्दा १५ मा जित र ८ खेलमा हार बेहोरेको छ ।
त्यस्तै, नामिबियाले अहिलेसम्म विश्वकप लिग–२ मा १० म्याच खेलेको छ । जसमा उसले छ खेलमा जित र चार खेलमा हारको सामना गरेको छ ।नामिबिया अंक तालिकाको पाँचौं स्थानबाट चौथो स्थान उक्लिएको छ। उसले १० म्याचमा ६ खेलमा जित र ४ मा हारको सामना गरेको छ।
नेपालले हाल खेल तालिकाको छैटाैं स्थान मा रहेको छ । शीर्ष स्थानको ओमानमाथि नामिबियाले जित निकाल्नु नेपालका लागि भने घाटा हो। लिग–२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो।
८ अंक जोडेको नेपाल अंक तालिकमा छैटौं स्ठानमा छ। यहीँ १५ मार्चदेखि सुरु हुने सिरिजमा नेपालले यूएई र पपुवा न्यूगिनीसँग खेल्दैछ।
नेपालले शीर्ष चार स्थानमा रहेनको लागि अबका हरेक खेल धेरै महत्त्वपूर्ण हुने छन् । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ। नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ। नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ। नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ।














