काठमाण्डाैं
यतिबेला नेपालको यू-१८ महिला टोली साफ च्याम्पियनसिपको तयारीमा छन् । दक्षिण एसियाली फुटबल फेडेरेसन -साफ)ले उमेर समूहको महिला फुटबल विकासका लागि सन् २०१८ देखि सुरु गरेको यो प्रतियोगिताको तेस्रो संस्करण भारतमा हुन लागेको छ ।
यसपल्ट यू-१८ साफ च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशमात्र छन् । तीन टोलीबीच डवल राउण्ड रोविन प्रणालीअनुसार लिग खेल सन्चालन हुनेछ । लिगको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । भारतको जम्सेदपुरमा चैत १ देखि १० गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ ।
लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक टिम भारतसँग खेल्ने नेपाली टिमको तयारी भने निकै फितलो छ । नेपालले फागुन ११ गतेदेखि मात्र बन्द प्रशिक्षण सुरु गरेको हो ।
टिमले लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको मैदानमा प्रशिक्षण गरिरहेको छ । दर्शन भक्तराज लावत र राष्ट्रिय टोलीकी पूर्व भगवती भगवती थापाले प्रशिक्षण दिइरहेका छन् ।
यू-१८ टिमबीचको प्रतिस्पर्धालाई नै निरन्तरता दिइँदा नेपाली टोलीमा प्रिती राईबाहेक अघिल्ला दुई संस्करण खेलेका सिनियर राष्ट्रिय टिमका खेलाडी टिममा छैनन् । यसको अर्थ नेपाली टोलीमा अन्तर्राष्ट्रिय एक्स्पोजर पाएका खेलाडी अत्यन्तै न्यून छन् । एक महिनाको तयारी पनि नहुँदा ठूला प्रतिस्पर्धीसामू नेपाली टिमलाई चुनौति धेरै छ ।
नेपालको कप्तानी संहाल्ने तयारी गरेकी प्रिती राईलाई कम समयको तयारीका कारण आफूहरु अरु दुई टिमभन्दा कमजोर देखिने हो कि भन्ने चिन्ता छ । प्रशिक्षक भगवती थापा भने यसपाली टिमले राम्रो प्रदर्शन गर्ने दावी गर्छिन् । ‘अहिलेका बहिनीहरु निकै मिहिनेती छन् । अघिल्ला पुस्ताको तुलनामा यो टोली अनुशासित छन् । छोटो समयमै राम्रो सिकेका छन्,’ प्रशिक्षक थापालाई तयारी समय कम भएकाले उपाधि जित्ने लक्ष्य पूरा हुँदैन कि भन्नेमा शंका छ ।
यसपल्ट कम अनुभवी र नयाँ खेलाडीको साथमा नेपालले त्यही टोलीलाई हराएर प्रतियोगिता जित्ने लक्ष्य राखेको छ । नेपालको अन्तिम टिम घोषणा भइसकेको छैन । अहिले बन्द प्रशिक्षणमा रहेका ३० जनामध्ये यसअघि यू- १९ टोलीमा परेका ११ खेलाडी छन् । तीमध्ये धेरैसँग खेलको अनुभव छैन ।
रणनीति यस्ताे
कप्तान र प्रशिक्षकको आत्मविश्वासअनुसार नेपालले आक्रामक फुटबलको रणनीति लिएको छ । ‘अहिले भएका खेलाडीमा पनि हामीले जसले उत्कृष्ट प्रदर्शन गर्न सक्छ उसैले अन्तिम २३ मा मौका पाउनेछ,’ प्रशिक्षक थापाका अनुसार खेलाडीको क्षमता र टोलीको आवश्यकताअनुसार टिम छनोट हुनेछ ।
कप्तान प्रितीले पनि विपक्षीको स्तर विर्सेर आक्रामक र आत्मविश्वासी प्रर्दशन गर्न सके सकारात्मक नतिजा आशा गर्न सकिने बताइन । ‘हामी आफ्नो स्थानमा बलियो बन्नेछौ्रं । आक्रामक शैलीको विकास र रक्षापंक्ति चुस्त बनाउनुपर्नेछ । अहिले त्यसैको तयारी हुँदैछ,’ उनले थपिन् ।
पहिलोपल्ट टिमको कप्तानी अवसर पाएकी प्रितीले आफ्नो अनुभवका आधारमा बलियो रणनीति बनाउने बताइन् । भन्छिन्, ‘राष्ट्रिय टोलीको अनुभव देखाउने समय हो । फुटबलमा कप्तान र अन्य खेलाडी समान हुन्छन् । मैदानमा सबैले आफ्नो शतप्रतिशत दिने हो ।’ अनलाइन खबरले लेखेकाे छ ।