काठमाडौँ ।
अर्को सातादेखि नेपालले विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदै छ । यसअघि नेपालले श्रीलंकाली स्थानीय क्लबविरुद्ध चारवटा अभ्यास खेल खेल्यो । आर्मीको नेभीविरुद्ध नेपालले दुई खेलमा जित निकाल्यो । यसमा बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दा नेपालको जित सम्भव भयो । यद्यपि नेपालको ब्याटिङ सन्तोषजनक भएन । त्यसपछि दुई खेलमा नेपालले ब्याटिङ र बलिङमा खराब प्रदर्शन नै गर्यो । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्टस् क्लबलाई एक सय ११ रन र दोस्रो खेलमा नेभीलाई नै ८२ रनले हराएको थियो । तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई एक सय ४४ रनले हराएको थियो ।
अघिल्लो तीन खेलमा नेपालले जित निकाले पनि ब्याट्सम्यानहरूले लगातार खेलमा खराब ब्याटिङ प्रदर्शन गरेका थिए । शुक्रबार नेपालले चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त–११ विरुद्ध प्रतिस्पर्धा गरेको थियो । यस खेलमा नेपाल ९२ रनले पराजित भयो । श्रीलंकाली टोलीले पहिलो ब्याटिङ गरी ४८.२ ओभरमा दुई सय ३२ रनको मध्यम योगफल खडा गरेको थियो । दुई सय ३३ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५.२ ओभरमा एक सय ४० रनमा अलआउट भयो ।
पूर्वकप्तान मल्लको सुधारिएको ब्याटिङ
लगातार खेलमा ब्याटिङमा असफल भएका नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले चौथो खेलमा आफूलाई फर्ममा पाए । उनले ६२ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दैै सर्वाधिक ४६ रन बनाए । इनिङ्सको एक समय नेपाल ७५–१ को बलियो अवस्थामा थियो । त्यसपछि लगातार विकेट गुमाउँदा नेपाल कमजोर भयो । नेपालले ओपनर आसिफ शेखलाई पाँच रनमा गुमाएको थियो । कुशल भुर्तेल र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । कुशल ४८ बलमा पाँच चौकाको मद्दतमा ३२ रन जोडे ।
टी–२० विश्वकप ग्लोबल छनोटदेखि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरिरहेका दीपेन्द्रसिंह ऐरी चौथो खेलमा चुके । उनी केवल दुई रनमै आउट भए । आरिफ १९ बलमा १३ रन बनाए । मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेल २१ तथा सोमपाल कामीले आठ रन बनाए । आक्रामक ब्याट्सम्यान विनोद भण्डारी एक रनमै आउट भए । यसअघि ब्याटिङ गरेको श्रीलंकाली टोलीका लागि अनुक फ्रेर्नान्डोले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । ओपनर सान्दुन विराक्कोडी ४९ रनमा नटआउट रहे । उनले ४८ बलको सामना गरेका थिए । ओपनर दिलसान र सान्दुनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।
प्रतिस्पर्धामा श्रीलंकाली टोलीमा पूर्वकप्तान उपल थरंगासमेत सहभागी थिए । उनले ११ बलमा तीन मात्र रन बनाए । श्रीलंकाका अलराउन्डर थिसेरा परेराले १३ बलमा आठ रन बनाए । श्रीलंकाको मध्यक्रम नचल्दा १०४–६ को कमजोर अवस्थामा पुगेको थियो । सो इनिङ्समा कुमारस्वामी ३० रन र दिलरुवान परेरा १४ रन बनाए । नेपालका लागि दीपेन्द्रसिंहले १० ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए । बायाँहाते स्पिनर सागर ढकालले ९ ओभरमा दुई मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ५५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ९.२ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १ मेडनसहित २२ रन खर्चेर १ विकेट लिए ।
विश्वकप लिग २ को तयारी
नेपाली टोली श्रीलंकाबाट युएई प्रस्थान गर्नेछ । युएईमा नेपालले विश्वकप लिग–२ मा १६ मार्चमा पपुवा न्युगिनीको सामना गर्नेछ । २२ मार्चसम्म नेपालको सामना आयोजक युएईसँग हुनेछ । विश्वकप लिग–२ २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्ने रोडम्याप हो । विश्वकप लिग–२ मा सात देशले प्रतिस्पर्धा गरेका छन् । शीर्ष तीन टोली २०२३ मा हुने विश्वकपको ग्लोबल छनोटमा सीधै प्रवेश पाउनेछन् । युएईमा नेपालले पपुवा न्युगिनी र युएईसँग खेलेपछि घर फर्कनेछ । यसपछि पिएनजीले नेपालको भूमिमा प्रतिस्पर्धा गर्नेछ । टियुको मैदानमा नेपाल र पपुवा न्युगिनीबीच दुईवटा एकदिवसीय खेल हुनेछ । त्यसपछि नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज हुने कार्यक्रम छ ।