काठमाडौं
क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार राति टोटनहम हट्सपरलाई ३-२ ले पराजित गरेको छ ।
ह्याट्रिकपछि रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउँदा युनाइटेड भने अंक तालिकामा चौथो स्थानमा उक्लेको छ ।
रोनाल्डोले व्यवसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अनुसार रोनाल्डोले सर्वाधिक ८०७ गोल गरेका छन् ।
दोस्रो स्थानमा रहेको जोसेफ बिकानको ८०५ गोल छ ।
यस्तै रोनाल्डोले १४ वर्ष ५९ दिनपछि प्रिमियर लिगमा ह्याट्रिक गरेका हुन् । उनको यो करियरको ४९औं ह्याट्रिक हो ।
ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन रोनाल्डोले १२औं, ३८औ र ८१औं मिनेटमा गोल गरे ।
टोटनहमका ह्यारी केनले ३५औं मिनेटमा पेनाल्टी गोल गरेका थिए भने युनाइटेडका कप्तान ह्यारी मग्वाएरले ७२औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।
यस जितपछि २९ खेलबाट ५० अंक जोडेर युनाइटेड चौथो स्थानमा उक्लेको हो । टोटनहम ४५ अंकसहित सातौं स्थानमा छ ।